Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १७ : ०२ मा प्रकाशित

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी तथा स्वाबलम्बी भावनाको विकास अनिवार्य भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा सोमबार आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

'दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ । हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन', राष्ट्रपति पौडेलले भने । उनले सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।

राज्यको सर्वाङ्गिण विकासमा युवाको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भने,'राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्णउपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।'

उनले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्न २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गरे । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका संवाहक र राष्ट्रको अमूल्य सम्पत्ति रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताए । यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवसले पनि यीनै दुई कुरालाई जोड दिएको उनको भनाइ थियो ।

'आजको विश्व परिवेशमा डिजिटल पुर्वाधारसँगै हाम्रो समाज र दैनिक जीवन द्रुतगतिमा परिवर्तन भइरहेको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयासमा डिजिटल रुपान्तरणको महत्वलाई स्वीकार्दै प्राविधिक जनशक्ति निर्माण र जलवायु परिवर्तनको अवस्थासमेतलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेछ', मन्त्री चौधरीले भने । युवालाई शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता उपलब्ध गराई मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने कुरामा प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको