Like us!
Follow us!
Connect us!
Watch us!

‘पूर्णबहादुरको सारङ्गी’ को कथा आफ्नो उपन्यासबाट चोरिएको लेखक बस्यालको आरोप,निर्माता भन्छन्- संयोग मात्र हो

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १३ : ४२ मा प्रकाशित

‘पूर्णबहादुरको सारङ्गी’ को कथा आफ्नो उपन्यासबाट चोरिएको लेखक बस्यालको आरोप,निर्माता भन्छन्- संयोग मात्र हो

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ लाई चोरीको आरोप लागेको छ ।

संग्रामपुर उपन्यासका लेखक डा.शिवशंकर बस्यालले चलिचित्र पूर्णबहादुरको सारङ्गीमा आफ्नो उपन्यासको कथा चोरिएको बताएका हुन् । उनले चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका पात्रसँग मिलेको बताएका छन् । लेखक डा.बस्यालले चलचित्र र उपन्यासबीच मिलेका ९ प्रसंगहरु उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्चालमार्फत भनेका छन्ः

बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो। यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगे । पूर्णबहादुरको सारङ्गी लाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ।

१.पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।
२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३.छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्। आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।
६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७.संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९. रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ,आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।

केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे। यो भन्दा अरु कथामा नौलो भेटिन।

तसर्थ यो संयोग होइन, यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च ।कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो । म अब नबोलौला । तर, इतिहासमा यो कोलाहाल रहिरहनेछ। मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना ।

 के भन्छन् निर्माता ?

फिल्मका निर्माता विनोद पौडेलले भने कथा चाेरेकाे नभएर समाजकै कथा भएकोले संयोग भएको हुनसक्ने स्पष्टीकरण दिएका छन्। फिल्मको कथा धेरैको जीवनसँग मेल खाएको भन्दै सकारात्मक प्रतिक्रिया आइरहेको समयमा चाेरीकाे आराेप लाग्नु षडयन्त्र भएको भन्दै उनले स्टाटसबाट नै कानुनी प्रक्रियामा जान आग्रह समेत गरेका छन्।

 उनले लेखेका छन्,पूर्ण बहादुरको सारङ्गीको सबैभन्दा सशक्त पक्ष भनेकै यसको कथा हो। पूर्ण बहादुरको पात्रको भोगाइ तपाईलाई आफ्नो भोगाई या आफ्नो माता पिताको भोगाईझैँ लाग्न सक्छ। धेरैले यो त हुबहु मेरो जीवनमा मिल्यो धन्यवाद सारै राम्रो चलचित्र बनाउनुभयो भन्नुभएको छ। अब त्यो बेला अलिक क्रान्ति गर्ने वा राजनीति गर्ने भनेकै शिक्षकहरुको बाहुलियता थियो मास्टरसाब को जस्तै। अहिले त गरिबी र विभेदको कारण असमानता भोग्नपर्छ त्यो समयमा त पक्कै थियो किनकि त्यो समाजको चित्रण हो हामीले देखि आएको नै हो। बाउले सन्तानलाई पढाउन मैले जे दुःख पाए जे भोगे मेरो सन्तानले नभोगोस् भन्न कुरा सायद सबै माता पिता को हुन्छ होला त्यो अवस्थामा। यतिकै दर्शकको आँखाबाट आँशु झरेको छैन है यहि समाजको भोगाईको चित्रण हो जसले देख्नु भएको छ वा झेल्नु भएको छ त्यो कुरा दर्शकको आँशु बनि बगिरहेछन्। हाम्रो कथा साधारण छ। शायद हल्का फल्का मिल्न सक्ला किनकि यो कथा यहि समाजको हो तर यो चोरीको आरोप नलागाम न हो। यदि त्यस्तो लाग्छ भने प्रतिलिपि ऐनमा जानुहोस्।  यो फेसबुकमा रैला मचाएर पुस्तक बिकाउने फन्डा र चलचित्रलाई हानी पुर्याउने षड्यंत्र हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको