लिन्च स्टक मार्केट लिमिटेड (ब्रोकर नम्बर ४१) ले लगानीकर्ताको ज्ञान वृद्धि, सेयर बजारप्रतिको सचेतना विस्तार तथा वित्तीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत निरन्तर गर्दै आएको यस कार्यक्रमलाई यसपटक पनि लगानीकर्ताहरूबाट उच्च सहभागिता मिलेको थियो।
कार्यक्रममा १५० जनाभन्दा बढी लगानीकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सेयर बजारमा प्रवेश गर्दा ध्यान दिनुपर्ने अनिवार्य पक्ष, बजारमा देखिने उतार–चढावका सम्भावित जोखिम, उचित कम्पनी चयनका आधार, सूचनाको सही प्रयोग, दीर्घकालीन लगानीका फाइदाहरू तथा व्यक्तिगत वित्तीय अनुशासनको आवश्यकता जस्ता विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी प्रमुख कार्यकारी अधिकृत सरीता अधिकारी विष्टले लगानीकर्ता सचेतना नै दिगो र सुरक्षित लगानी संस्कार निर्माणको आधार भएको बताउँदै आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन्। उनले लगानीकर्ताले सूचनाको अभावमा गर्ने निर्णयले हानी व्यहोर्नुपर्ने घटना दोहोरिन नदिन स्टक ब्रोकरहरूको भूमिका अझै जिम्मेवार र सक्रिय हुनुपर्ने उल्लेख गरिन्।
कार्यक्रमका क्रममा लिन्च स्टक मार्केट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कारोबार गर्ने उत्कृष्ट तीन सेयर कारोबारकर्तालाई सम्मानित गरेको छ। कारोबार भोल्युमको आधारमा सम्मान प्राप्त गर्नेहरू महेशलाल बतास, सुशील कुमार लुनिया र शिशिर ज्ञवाली रहेका छन्।
कम्पनीका अनुसार, गत आर्थिक वर्षमा सम्पन्न कुल कारोबारमध्ये उनीहरूको कारोबार योगदान उल्लेखनीय रहेको छ।
लिन्च स्टक स्टक मार्केट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ८४ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार गराएको जानकारी दिएको छ। सम्मानित तीनजना लगानीकर्ताले मात्र ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।
ब्रोकर कम्पनीका अनुसार, नियमित तथा उच्च भोल्युममा कारोबार गर्ने लगानीकर्ताहरूलाई सम्मानित गर्नु संस्थाले उत्कृष्ट ग्राहक सेवाप्रति देखाएको प्रतिबद्धताको उदाहरण हो।
लिन्च स्टक मार्केट लिमिटेडले सेयर बजारमा सही जानकारीका आधारमा निर्णय लिन सक्ने सक्षम लगानीकर्ताको निर्माण गर्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ। संस्थाले लगानीकर्तालाई आर्थिक सचेतना प्रदान गर्न निरन्तर प्रशिक्षण, छलफल, मार्गदर्शन र कार्यशाला जस्ता गतिविधि आयोजना गर्दै आएको जनाएको छ।
संस्थाका प्रतिनिधिहरूले नेपाली सेयर बजारलाई दीगो, पारदर्शी र लगानीकर्तामैत्री बनाउनका लागि यस्ता पहलहरू भविष्यमा पनि क्रमिक रूपमा विस्तार गरिने जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस