Like us!
Follow us!
Connect us!
Watch us!

घरजग्गा कारोबारबाट एकैमहिनामा ३ अर्ब ८७ करोड राजस्व संकलन, ४३ हजार बढी लिखत पारित

अर्थ संसार

विहीबार, ०४ पुस २०८१, २० : १८ मा प्रकाशित

घरजग्गा कारोबारबाट एकैमहिनामा ३ अर्ब ८७ करोड राजस्व संकलन, ४३ हजार बढी लिखत पारित

मंसिर महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ । गत वर्ष मंसिर र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो ।

गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ ।

जबकि, चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो ।

साउन, भदौ, असोज र कात्तिकमा भएको कारोबारका आधारमा मंसिरमा कारोबार बढेको छ । असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

राजश्व संकलन

गत आवको तुलनामा चालू आवको मंसिरमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ ।  विभागका अनुसार मंसिर महिनामा मात्रै जग्गाको कारोबारबाट कुल ३ अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये सबैभन्दा धेरै रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६३ करोड, पुँजीगत लाभकरबापत १ अर्ब ३१ करोड, सेवा करबापत २६ करोड संकलन हुँदा ३७ करोड रुपैयाँ बराबरको छुट दिइएको छ । 

अघिल्लो वर्षको मंसिर महिनामा जग्गाको कारोबारबाट कुल २ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ९५ करोड, पुँजीगत लाभकरबापत ९६ करोड, सेवा करबापत २२ करोड संकलन हुँदा ३१ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।

विभागका अनुसार मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतबाट उठेको छ । चितवनबाट ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ उठेको हो । यसैगरी, मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४ सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसपछि बढी राजस्व उठाउनेमा भक्तपुर मालपोत रहेको छ । भक्तपुरबाट २२ करोड ५८ लाख २३ हजार रुपैयाँ उठेको छ । डिल्लीबजार मालपोतले भने १९ करोड ९६ लाख रुपैयाँ उठाएको छ ।

साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । कास्की मालपोतले भने १३ करोड ५९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

काठमाडौँ उपत्यकामा अहिले कलंकी, चाबहिल, साँखु, लगनखेल, भक्तपुर, डिल्लीबजार, साँखु, टोखा र गोटीखेलमा मालपोत कार्यालय रहेका छन् । ती कार्यालयहरूमा अघिल्लो वर्ष कुल ३४३ वटा नामसारी भएकोमा यो वर्ष उक्त सङ्ख्या ४०४ वटा पुगेको छ । यो महिनामा भक्तपुर मालपोत जग्गाको सबैभन्दा धेरै नामसारी गर्ने कार्यालयको रूपमा अगाडि आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको