युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
पाल्पाको रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रमबाट विभिन्न व्यवसायमा आबद्ध भएर यहाँका ९७ युवा लाभान्वित भएका नगरपालिकाले जनाएको छ । हालसम्म १ करोड ११ लाख ६९ हजार ८२८ रुपैयाँ बराबरको रकम लगानी गरिएको र त्यसले देशमै केही गर्ने चाहना भएका युवालाई लाभ पुगेको नगरपालिकाले बताएको छ ।
नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका ४४ जना युवालाई कार्यक्रममा छनौट गरिएको छ । तरकारी, फलफूल खेती, संरचनाभित्र तरकारी खेती, फलफूल वा पुष्प नर्सरी, कुखुरापालन, माछापालन, बाख्रापालन, मौरीपालन, च्याउखेती, बङ्गुरपालन, गाईभैँसीपालन व्यवसाय गर्नका लागि नगरपालिकाले ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । सुरुमा ५ लाख रुपैयाँबाट ब्याज अनुदान दिन थालेको नगरपालिकाले हाल ३० लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।
अनुगमन समितिले बेलाबेलामा व्यवसायको अनुगमन गरी मापदण्डअनुसार व्यवसाय सञ्चालन भए/नभएको मूल्याङ्कन गरेर मात्रै सम्बन्धित व्यवसायीको बैंक खातामा रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । मापदण्डअनुसार काम नगरेको ठहर गरेमा सो रकम रोक्का गरिने नगरपालिकाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस