Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय ठगीबाट बच्न ‘रेड फ्ल्याग’ समयमै चिन्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ०८ : ५५ मा प्रकाशित

वित्तीय ठगीबाट बच्न ‘रेड फ्ल्याग’ समयमै चिन्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले बढ्दो डिजिटल वित्तीय कारोबारसँगै विस्तार हुँदै गएको वित्तीय ठगी (Financial Scam) को जोखिमप्रति सर्वसाधारणलाई सचेत गराउँदै ठगीका संकेत (Red Flags) समयमै पहिचान गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको वित्तीय चेतनामूलक सन्देशमा स्क्याम गर्ने व्यक्तिहरूले विश्वासिलो कथा र विभिन्न बहाना बनाएर सर्वसाधारणको पैसा वा व्यक्तिगत वित्तीय सूचना चोरी गर्ने प्रयास गर्ने भएकाले अत्यधिक सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ प्रविधि, डिजिटल सेवा र अनलाइन माध्यमको विस्तारसँगै ठगीका शैली पनि निरन्तर परिवर्तन भइरहेका छन्। त्यसैले अपरिचित व्यक्तिबाट प्राप्त हुने सन्देश, लिंक वा फोनकलप्रति सजग रहनु नै वित्तीय सुरक्षाको पहिलो आधार भएको जनाएको छ।

यी हुन् स्क्यामका प्रमुख संकेत

राष्ट्र बैंकले वित्तीय ठगीको जोखिम बढाउने केही प्रमुख संकेत सार्वजनिक गरेको छ। अपरिचित व्यक्ति वा संस्थाले लिंक वा फाइल (Attachment) पठाएर तत्काल खोल्न दबाब दिनु, सामान्यभन्दा फरक शैलीमा कुरा गर्दै पैसा पठाउन वा बैंकसम्बन्धी गोप्य विवरण माग्नु, रकम अर्को अपरिचित खातामा स्थानान्तरण गर्न आग्रह गर्नु तथा सामाजिक सञ्जाललाई मात्र सम्पर्क माध्यम बनाएर वित्तीय कारोबार गर्न खोज्नु ठगीका सम्भावित संकेत भएको जनाएको छ।

त्यस्तै, User Name, Password, PIN वा OTP जस्ता गोप्य विवरण माग्नु, तत्काल निर्णय गर्न दबाब सिर्जना गर्नु, नयाँ खाता खोल्न वा व्यक्तिगत विवरण उपलब्ध गराउन आग्रह गर्नु तथा अत्यधिक नाफा हुने तर जोखिम नहुने भन्दै आकर्षक प्रस्ताव ल्याउनु पनि स्क्यामका सामान्य संकेतका रूपमा राष्ट्र बैंकले औँल्याएको छ।

स्क्याममा परेपछि के हुन्छ?

राष्ट्र बैंकका अनुसार वित्तीय ठगीमा परेपछि पीडितले आफैँ रकम अर्को व्यक्तिको खातामा पठाउन सक्छन्, बैंक तथा डिजिटल सेवासम्बन्धी गोप्य विवरण चोरी हुन सक्छ, वा मोबाइल तथा कम्प्युटरमा अनधिकृत पहुँच स्थापना गरी वित्तीय जानकारी दुरुपयोग हुन सक्छ।

यस्ता घटनाले बैंक खाता, डिजिटल वालेट तथा अन्य वित्तीय सेवामा प्रत्यक्ष आर्थिक क्षति पुर्‍याउन सक्ने भएकाले व्यक्तिगत जानकारी सुरक्षित राख्न विशेष सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गरेको छ।

शंका लागे तत्काल उजुरी गर्न आग्रह

राष्ट्र बैंकले कुनै पनि वित्तीय कारोबार शंकास्पद लागेमा तत्काल सम्बन्धित वित्तीय संस्था, नेपाल प्रहरी, साइबर ब्यूरो तथा नियामक निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

साथै, वित्तीय सेवासम्बन्धी गुनासो वा उजुरी नेपाल राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल मार्फत दर्ता गर्न सकिने तथा वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–५७१९६०५ मा पनि सम्पर्क गर्न सकिने जनाएको छ।

राष्ट्र बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा अन्य विद्युतीय वित्तीय सेवाको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सर्वसाधारणले वित्तीय साक्षरता र साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

6a681e66605e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको