Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ०८ : १७ मा प्रकाशित

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिनुपर्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको हो।

नेप्सेको नयाँ नेतृत्व चयनका लागि गठन गरिएको छनोट तथा सिफारिस समिति को निर्णयअनुसार पहिलो पटक सूचना प्रकाशित गरिएको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार मा आवेदन दर्ता गराउनुपर्नेछ।

यी योग्यता अनिवार्य

सूचनाअनुसार उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि वा चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ।

त्यसैगरी पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव तथा त्यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ। व्यवस्थापकीय तहअन्तर्गत नेपाल सरकारको अधिकृत द्वितीय श्रेणी वा सोसरह, वा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तहसम्मको नेतृत्व तहलाई समेटिएको छ।

आवेदन दिने उम्मेदवारको उमेर अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

त्यस्तै, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीमा रहेका, विदेशी स्थायी आवासीय अनुमति (PR/DV/Green Card) प्राप्त गरेका, गैरनेपाली नागरिक तथा कानुनले अयोग्य ठहर गरेका व्यक्तिले आवेदन दिन पाउने छैनन्।

व्यावसायिक कार्ययोजना अनिवार्य

आवेदनसँगै उम्मेदवारले नेप्सेको भावी विकाससम्बन्धी व्यावसायिक कार्ययोजना (Business Action Plan) तीन प्रति खामबन्दी गरी बुझाउनुपर्नेछ। खामको बाहिरी भागमा आवेदकको नाम तथा "नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरी हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ।

सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले रु. ५ हजार आवेदन दस्तुर राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा अर्थ मन्त्रालयको तोकिएको राजस्व खातामा जम्मा गरी सक्कल भौचर आवेदनसँगै पेश गर्नुपर्नेछ।

छनोट कसरी हुन्छ?

छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनमध्ये उम्मेदवारको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, व्यवसायिक कार्ययोजनाको मूल्याङ्कन तथा प्रस्तुतीकरण (Presentation) का आधारमा योग्य उम्मेदवारको सिफारिस गर्नेछ।

समितिले आवश्यक परे कुनै पनि आवेदन कारणसहित वा कारण नखुलाई रद्द गर्न सक्ने अधिकार राखेको छ। साथै, झुट्टा विवरण वा कागजात पेश गरेको पुष्टि भएमा आवेदन स्वतः रद्द हुनुका साथै प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको