सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ।
समिति बैठकमा बोल्दै अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ, अर्थ मन्त्रालय र कानुन मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरूबिच विधेयकका विषयमा दफावार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको बताए ।
उनले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए । सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताए ।
समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भएपनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस