वीरगञ्जमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे। वीरगञ्जको इतिहास, गौरव र सम्मान शासक वर्गले मेट्न खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन्।
‘शासक वर्गले वीरगञ्जको इतिहास, गौरव, सम्मान मेट्न खोजिरहेका छन्। वीरगञ्ज उनीहरूका लागि दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर वीरगञ्जको विकासमा योगदान नगर्ने,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले वीरगञ्जलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं। वीरगञ्जले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा वीरगञ्जमा विकास भएको छैन। वीरगञ्जको चौतर्फी विकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ।’
काठमाडौं देशको प्रशासनिक राजधानी, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रश्न गरे। उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउने वीरगञ्ज। बाढी उद्योग व्यवसाय हुने यही बारा, पर्सा हो। यहाँको उद्योगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने? यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन, प्रभु साह चुप लागेर बस्दैन।’
हालै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलेमतोमा भ्रष्टाचार बढ्दै गएको जनाएको छ। वीरगञ्जको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भीर आरोप लगाए।
‘सरकार आफैं भ्रष्टाचारीलाई संरक्षण गरेको छ। भ्रष्टाचारी जोगाउने, बचाउने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन। भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ। तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुँदैन। विभिन्न ठूला काण्डको फाइल सरकारले लुकाएर राखेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू भ्रष्टाचारमै संलग्न छन्। यी लुटेराहरूले देशलाई लुटेर कंगाल बनाइसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन्। यिनीहरूबाट देश समृद्ध हुँदैन।’
देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुट्नेहरूले हरेक नेपालीमाथि विदेशी ऋण बढाउँदै गएका छन्। विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ।
आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरू राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज, रामशरण यादव लगायतको विशेष सहभागिता रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस