नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक २०८१ पुस २७ गते काठमाडौंको चन्द्रागिरीमा सम्पन्न भएको छ। बैठकमा व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, र पूर्वाधार विकासजस्ता विषयमा छलफल गर्दै महत्त्वपूर्ण सहमतिहरू भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दुवै देशबीच आर्थिक सम्भावना उच्च रहेको भन्दै गैरभन्सार अवरोध हटाउने, बीआईएस प्रमाणीकरण प्रक्रियामा सुधार गर्ने, र पोखरा तथा भैरहवा विमानस्थललाई भारतका प्रमुख शहरहरूसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। साथै, नेपाली वस्तु निर्यातलाई सहज बनाउने र भारतका प्रमुख बन्दरगाहहरूसम्म नेपालको पहुँच विस्तार गर्नुपर्ने विषयमा पनि उनले जोड दिए।
बैठकमा जलविद्युत र स्वच्छ ऊर्जा परियोजनामा सहकार्य, सडक र हवाई कनेक्टिभिटीमा सुधार, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउनेजस्ता विषयमा सहमति भएको छ।
नेपालका वाणिज्य सचिव गोविन्द बहादुर कार्की र भारतका वाणिज्य सचिव सुनिल बर्थवालले बैठकमा भएका सहमतिहरू व्यवहारिक रूपमा कार्यान्वयन गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे।
उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले भारत नेपालकै ठूलो व्यापार साझेदार रहेको बताउँदै बैठकका सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकको तेस्रो संस्करण भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस