आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम’ रहेको छ ।
त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रालि, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाइ–टेक इन्जिनियरिङ प्रालि (डिजिकम), पाइन ओबरसिज प्रालि, सुबिसु केबलनेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन् ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् ।
क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।
राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्ने गरी तयारी भइरहेको क्यान महासंघले जनाएको छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस