निर्माणाधीन पाथीभारा केबलकारका विरुद्धमा आन्दोलनरत पक्षसँग गृहमन्त्री रमेश लेखकले वार्ता गर्ने भएका छन् । एमाले सचिव योगेश भट्टराईका अनुसार गृहमन्त्रीले भोलि साँझ ६ बजेको समय दिएका छन् ।
आज सरकारी टोलीसँग केवलकारविरोधी समूहको वार्ता विनानिष्कर्ष टुंगिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । वार्तामा सहभागी एमाले सचिव भट्टराईले आन्दोलनकारीको मागबमोजिम आफूले गृहमन्त्रीसमक्ष कुरा गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।’
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फ़त समस्याको समाधान गर्न समेत उनले अनुरोध गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस