ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धि अनुसार पानी छाड्ने सहमति भएको छ ।
यस्तै, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठक मार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।
भेटमा भारतका जलशक्ति मन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस