वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यस अवधिमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । लक्ष्यको तुलनामा दुवै भन्सारको राजस्व असुली कम भएपनि असुली दर भने उत्साहजनक रहेको छ ।
वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयले समीक्षा अवधिमा लक्ष्यको ७७.८ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
फागुन महिनामा मात्र १४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ७९ प्रतिशत हो । यो महिनामा १८ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।
यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले फागुन मसान्त सम्ममा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८३.११ प्रतिशत हो ।फागुन महिनामा मात्र यो भन्सारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ९२.२२ प्रतिशत हो । यो महिनामा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो । वीरगन्ज भन्सार कार्यालयले इन्धन, नयाँ सवारी साधन आदिको आयातबाट बढी राजस्व संकलन गर्छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले फलामजन्य वस्तु, मदिरा, औद्योगिक कच्चा पदार्थ आदि वस्तुबाट बढी आयात संकलन गर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस