ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग डिजिटल बैंकिङ सेवा सुधार तथा एम्बेडेड फाइनान्स मोडेल प्रवद्र्धनका लागि एडभाइजरी साझेदारी सम्झौता गरेको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।
समझौताअनुसार, विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्नेछ। साथै, आवश्यक सुधारका क्षेत्र पहिचान गरी डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सल्लाह प्रदान गर्नेछ।
आईएफसीले फिनटेक प्रविधिको सम्भाव्यता अध्ययन गर्दै बैंकलाई डिजिटल वित्तीय सेवा थप प्रभावकारी बनाउन सल्लाह दिनेछ। यसले ग्राहकहरूलाई प्रविधिमैत्री तथा नवीन सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। बैंकका सीईओ रेग्मीका अनुसार आईएफसीको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रमा नयाँ उचाइ प्रदान गर्नेछ।
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ द्वारा सम्मान गरिएको छ। बैंकले मुलुकभर ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्दै आएको छ।
बैंकसँग ३५५ शाखा, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन काउन्टर तथा ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालय छन्। साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
आईएफसीले विकासशील देशहरूमा निजी क्षेत्रको प्रवर्द्धन गर्दै आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्दै आएको छ। ग्लोबल आइएमई बैंकसँगको सहकार्यले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल सेवा प्रवद्र्धन गर्दै नयाँ फिनटेक समाधानहरू विकास गर्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस