Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै अनलाइन खाता खोल्न सकिने

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १२ : १७ मा प्रकाशित

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै अनलाइन खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ।  अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।

यसका लागि नागरिक एप प्रयोगकर्ताले बैंक खाता खोल्न आवश्यक क्यूआर कोड उल्लेख गरिएको लिंकमा क्लिक गरी आवश्यक विवरण भर्न सक्ने व्यवस्था गरिएको छ। खाता खोल्ने प्रक्रियामा बैंकले नागरिक एपबाट सुरक्षित रूपमा व्यक्तिगत विवरण प्राप्त गर्ने जनाएको छ। यो व्यवस्थाबाट ग्राहकले पुनः व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षा सुनिश्चित हुने विश्वास बैंकले व्यक्त गरेको छ। यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका र नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारी डिजिटल पूर्वाधारको प्रयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी र सहज बनाउनुका साथै ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आईएमई बैंक हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ । साथै, उत्कृष्ट बैंकिङ सेवा र डिजिटल नवप्रवर्तनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको