ग्लोबल आईएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा आफ्ना ग्राहकका लागि विशेष सेवा सुविधा सहितको ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्डको अनावरण गरे।
यस कार्डमार्फत ग्राहकले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, कार्डमार्फत गरिएको पहिलो टिकट खरिदमा निःशुल्क टिकटको सुविधा क्यासब्याक स्वरूप पाइनेछ।
‘ग्लोबल स्काई क्लब कार्ड’ लिने ग्राहकले सुरुवाती रूपमा १०० बोनस प्वाइन्ट प्राप्त गर्नेछन्, जुन विभिन्न छुट तथा सुविधाका लागि प्रयोग गर्न सकिनेछ। साथै, पोइन्ट अफ सेल (POS) वा ई–कम माध्यमबाट गरिएको प्रत्येक १०० रुपैयाँ बराबरको खर्चमा १ माइलेज प्वाइन्ट थपिने सुविधा पनि रहेको छ।
कार्डधारीले चेक–इन र बोर्डिङ प्रक्रियामा प्राथमिकता पाउनुका साथै यात्राका क्रममा निर्धारित तौलभन्दा थप ५ केजी सामान लैजाने सुविधा पनि पाउनेछन्।
कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सहकार्यले डिजिटल कारोबार प्रवर्द्धन तथा ग्राहक अनुभवलाई अझ सशक्त बनाउने बताए। यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले सहकार्यबाट दुबै संस्थाका ग्राहकले थप लाभ पाउने विश्वास व्यक्त गरे।
ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले आगामी दिनमा अझ गहिरो सहकार्य गर्दै ग्राहक केन्द्रित सेवामा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।
ग्लोबल आईएमई बैंकले हाल देशभरका ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ। बैंकसँग ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन्।
बैंकले विश्वका धेरै देशहरूसँग रेमिट्यान्स कारोबार गर्दै नेपालीहरुलाई अन्तर्राष्ट्रिय सेवा पनि प्रदान गर्दै आएको छ। यता, यती एअरलाइन्सले विगत २६ वर्षदेखि नेपालका विभिन्न भू–भागमा ७ वटा एटीआर विमानमार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आइरहेको छ।
सहकार्यले बैंक र एअरलाइन्स दुवैका ग्राहकलाई थप सुविधा दिलाउने विश्वास आयोजक पक्षको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस