Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १७ : ०३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय, कमलादी काठमाडौं परिसरमा सो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो।

बिहीबार आयोजित एक विशेष समारोहमा बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सो चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन गरे। ग्लोबल आइएमई बैंक र गाडी चार्ज प्रा.लि.को सहकार्यमा स्थापना गरिएको सो स्टेशनमा सिसिटू सिंगल गनको ४० किलोवाट क्षमताको उपकरण जडान गरिएको छ। यो चार्जिङ स्टेशन बैंकमा सेवाका लागि आउने ग्राहक तथा बैंकका कर्मचारीहरूले आफ्ना विद्युतीय गाडीहरू चार्ज गर्न प्रयोग गर्न सक्नेछन्।

बढ्दो ईभी प्रयोग र ग्राहकको आवश्यकता मध्यनजर गर्दै बैंकले यो सुविधा उपलब्ध गराएको हो। कार्यक्रममा बैंकका सञ्चालक शर्माले ग्राहक सुविधा र वातावरणमैत्री प्रविधिको प्रवर्द्धनलाई ध्यानमा राख्दै चार्जिङ स्टेशन स्थापना गरिएको जानकारी दिए। साथै, उनले वातावरण संरक्षणका लागि बैंकले निरन्तर पहलकदमी लिइरहेको पनि बताए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक उत्तरदायी र वातावरणमैत्री बैंकको रूपमा प्रतिबद्ध रहेको बताए। उनले बैंकको १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा बैंकको सक्रिय भूमिका रहेको उल्लेख गरे। पोखरेलले अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि यस्ता पहलहरूबाट प्रेरणा लिन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारीहरू र गाडी चार्ज प्रा.लि.का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको 'बेस्ट बैंक अवार्ड २०२४' तथा युरोमनीको 'अवार्ड फर एक्सेलेन्स २०२४' अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरिसकेको छ। साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेको छ।

देशभर ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरिसकेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले नेपालभित्र मात्रै नभई विदेशमा रहेका नेपालीहरूका लागि पनि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न मुलुकहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको