कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टिविहीनहरूलाई लक्षित गरी विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम शनिबार सम्पन्न भएको हो।
बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले सहभागी दृष्टिविहीनहरूलाई बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, दीर्घकालीन वित्तीय योजना, भविष्यका लगानीका अवसरहरू, डिजिटल कारोबार र डिजिटल ठगीसम्बन्धी जानकारी दिए। कार्यक्रममा ४० भन्दा बढी दृष्टिविहीनहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा दृष्टिविहीन सहभागी कृष्ण खत्री ‘अविरल’ले समयमै वित्तीय साक्षरता नपाउँदा बैंकिङ प्रणालीबाट वञ्चित रहनुपरेको अनुभव साझा गर्दै भने, 'कमाएको र बचाएको रकम साथीहरूलाई राख्न दिनुपर्थ्यो, तर त्यो सुरक्षित रहन्छ कि रहँदैन भन्नेमा विश्वस्त हुन सक्दिनथें।' उनले अबदेखि आफैंले खाता खोली बैंकमार्फत् सुरक्षित कारोबार गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, सहभागी दृष्टिविहीन बिक्रम पथरियाले सानो बचतले पनि भविष्यमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने आशा जागेको बताए।
सर्वोदय परियोजनाका प्रतिनिधि तथा दृष्टिविहीन सौगात वाग्लेले दृष्टिविहीनहरूलाई अन्य ग्राहक सरह बैंकिङ सेवा—जस्तै मोबाइल बैंकिङ, एटीएम कार्ड—उपलब्ध गराएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए। उनले आफूले पनि ती सबै सेवा प्रयोग गरिरहेको उल्लेख गरे।
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामार्फत ग्राहकहरूले मोबाइल बैंकिङ, एटीएम कार्डजस्ता सेवा सहज रूपमा प्राप्त गर्न सक्छन्। बैंकका अनुसार दृष्टिविहीन भएकै कारण खाता खोल्न कुनै अतिरिक्त कागजात वा साक्षी आवश्यक पर्दैन। साथै, खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपीमा पनि उपलब्ध गराइन्छ।
बैंकले समावेशी वित्तीय पहुँचलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस