Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पाको रानीमहल पुरानै स्वरूपमा पुनर्निर्माण गरिने, संरक्षणका लागि गुरुयोजना बनाउने निर्णय

अर्थ संसार

विहीबार, १२ असार २०८२, १५ : ५६ मा प्रकाशित

पाल्पाको रानीमहल पुरानै स्वरूपमा पुनर्निर्माण गरिने, संरक्षणका लागि गुरुयोजना बनाउने निर्णय

पाल्पाको ऐतिहासिक सम्पदा रानीमहल पुरानै स्वरुपमा पुनर्निर्माण र संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले खड्ग शम्शेरले निर्माण गरेको पुरानो रानीमहलको संरचना जस्ताको तस्तै राखी संरक्षण गर्न गुरुयोजना बनाएर अघि बढ्ने निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पुरातत्व विभागका महानिर्देशक, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको सहभागिता रहेको थियो।

अर्थमन्त्री पौडेलले रानीमहललाई दुर्लभ ऐतिहासिक सम्पदा भन्दै त्यसको मौलिकता जोगाइनेगरी सामग्री संकलन, अध्ययन र कार्यान्वयनका लागि पुरातत्व विभागलाई निर्देशन दिए। उनले नदी तथा पहिरो व्यवस्थापनसहितका संरचनात्मक कामलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सम्पूर्ण क्षेत्रलाई व्यवस्थित संरक्षणमा ल्याउनुपर्नेमा जोड दिए। सांसद ठाकुर गैरेले कालीगण्डकी नदीको कटानबाट रानीमहलको जग जोगाउन आवश्यक सावधानी अपनाउन आग्रह गरे।

सांसद नारायण आचार्यले तीन तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सबै सरोकारवालासँग समन्वय गरेर अघि बढिने जानकारी दिए। पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ऐतिहासिक र सांस्कृतिक महत्व जोगाउँदै पुनर्निर्माण गरिने बताए। अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले स्रोत अभाव नहुने स्पष्ट पारे।

कालीगण्डकी कोरिडोर प्रोजेक्ट म्यानेजर कल्पना अधिकारीका अनुसार प्रारम्भिक अध्ययनले रानीमहलको संरचनालाई रेट्रोफिटिङ गर्नुपर्ने, नदी कटान नियन्त्रण, पहिरो व्यवस्थापन, पुल निर्माण, पार्किङ क्षेत्रको व्यवस्थापन जस्ता उपायहरू आवश्यक रहेको देखिएको छ। उल्लेखनीय छ, राणाकालमा खड्ग शम्शेरले आफ्नी पत्नी रानी तेजकुमारी देवीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। यस सम्पदालाई पुनः जिवन्त बनाउने पहल सुरु भएको हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको