ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस तथा ग्लोबल हाटबजारको २५ औं हप्तालाई विशेष उत्सवसहित भव्य रूपमा मनाएको छ। बैंकले साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई सिधै बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गर्दै आएको हाटबजार यसपटक २५औँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमअन्तर्गत बैंकले लगानी गरेका लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्ने हेतुले मेलाको आयोजना गरेको थियो। ‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नाराका साथ हाटबजार हरेक शुक्रबार काठमाडौंको कमलादीस्थित बैंकको शाखामा सञ्चालन हुँदै आएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रममा बोल्दै नेपाल आर्थिक समृद्धिमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए। उनले हाटबजारले यस्ता व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे।
रेग्मीले भने, 'हाटबजारले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान दिइरहेका उद्यमीहरूलाई बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउन सहयोग पुर्याइरहेको छ।' उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत भूमिका खेलेको बताए।
मेलामा विषादी रहित कृषि उपज, रैथाने बालीका उत्पादन, हस्तकला सामग्री, सजावटका बिरुवा लगायत दुई दर्जनभन्दा बढी कृषक र व्यवसायीका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समयानुकूल विभिन्न योजना सार्वजनिक गर्दै सेवा विस्तार गर्दै आएको छ। बैंकले सन् २०२४ मा ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ र युरोमनी अवार्ड फर एक्सलेन्स अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि समेत प्राप्त गरेको छ। यस्तै, बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्रशंसा र सम्मान पनि प्राप्त गरिसकेको छ।
हाल, ग्लोबल आइएमई बैंक मुलुकभर ७७ जिल्लामा सेवा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। यसले ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
बैंकले विकट भौगोलिक क्षेत्रका नागरिकहरूलाई समेत समेट्दै देश–विदेशमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस