६ महिनाको अवधिमा बुद्ध एयरले ७ अर्ब माथिको आम्दानी गर्न सफल भएको छ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको एयरलाइन्सले व्यापार पछिल्ला वर्षहरूमा निरन्तर रुपमा प्रगति गरिरहेको हो ।
आन्तरिक उडामा यात्रुहरुको पहिलो रोजाइको कम्पनी बन्न सफल बुद्ध एयरले सन् २०२५ को पहिलो ६ महिनाको अवधिमा ७ खर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको विवरण अनुसार बुद्ध एयरले सन् २०२५ को जुन सम्मका अवधिमा उक्त आम्दानी गर्न सफल भएको हो ।
कम्पनीले सन् २०२४ मा १३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा कम्पनीको आम्दानी १४ अर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ । सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो भने २०२२ मा १० अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । २०२३ मा भने कम्पनीले १२ अर्ब १६ करोडरुपैयाँ आम्दानी भएको थियो ।
अहिले बुद्ध एयरले १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ । सुदूर पश्चिमदेखि पूर्वका सहरसम्म बुद्धले नियमित उडान गर्दै आइरहेको छ । बुद्धले पछिल्लो समय बीरगञ्ज, रामेछाप, चौदण्डीगढीलगायतका नयाँ गन्तव्यहरूमा पनि उडान थप गर्दै आएको छ । बुद्धले काठमाडौंबाट पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, सुर्खेत, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस