नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले संस्था अब नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा गरेका छन्।
आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘नाडा अटो शो २०२५’ को विषयमा जानकारि दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस वर्षको अटो शोलाई केवल प्रदर्शनी नभई 'अटो क्षेत्रकै चाडपर्व' को रूपमा विकास गरिएको स्पष्ट पारे।
अध्यक्ष चौधरीले नाडाले ५० वर्षको यात्रा पूरा गरिसकेको स्मरण गर्दै भने, 'नाडा अटो शो अब परम्परागत प्रदर्शनी मात्र होइन, अटो व्यवसायीहरूले हर्ष र उत्साहका साथ मनाउने पर्व हो।' उनले यो शोले नेपालको अटो उद्योगको सम्भावना, महत्व र योगदानलाई राष्ट्रिय रूपमा चिनाउने बताए। उनका अनुसार यस वर्षको अटो शो विगतभन्दा पूर्ण रूपमा फरक हुनेछ। शोमा मोबिलिटी क्षेत्रको सुधार, भविष्यको आवश्यकता, र नेपालको अटो उद्योगको भावी सम्भावना बारेमा गम्भीर छलफल हुने उनले जानकारी दिए।
'नेपालले मोबिलिटी क्षेत्रमा अकल्पनीय प्रगति गरिरहेको छ,' चौधरीले भने, 'अबको अटो शोमार्फत हामी अटो क्षेत्रको भविष्य देखाउनेछौं। हामीले यसलाई नेपालकै चाडपर्वको जस्तो बनाउने लक्ष्य राखेका छौं।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस