Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२५ भदौ ३ देखि : १९ चारपांग्रे र १३ व्यावसायिक सवारी ब्राण्डको भव्य प्रदर्शनी

अर्थ संसार

मंगलबार, २० साउन २०८२, १४ : ४९ मा प्रकाशित

नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय भएको छ।

‘Go For More’ नारासहित ऐतिहासिक अटो शो

यस वर्षको अटो शो ‘Go For More’ भन्ने नारासहित आयोजना हुँदैछ, जसले नेपालमा दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको युगको सुरुवात गर्ने संकेत दिएको आयोजकको भनाइ छ। नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यो केवल सवारीसाधनको प्रदर्शनी मात्र नभई नेपाली अटो उद्योगको सम्भावना, प्रविधि, नवप्रवर्तन र बजारको गतिशीलतालाई एकै मंचमा प्रस्तुत गर्ने प्रयास हो।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने, “नाडा अटो शो २०२५ प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुनेछ। यो शोले ‘मोबिलिटी’ र ‘भविष्य’ को नयाँ परिभाषा दर्शकलाई अनुभूत गराउनेछ।”

उनका अनुसार, यसपटकको शो ऐतिहासिक हुने छ — केवल अटोमोबाइल व्यवसायको उत्सव मात्र नभई दुरदर्शी सोचको प्रतीक हुनेछ। प्रविधिलाई प्राथमिकता दिँदै यस वर्षको शोमा चीनको एमएडब्लु वृद्धि (Yudo/Unitree) कम्पनीका चारपांग्रे रोबोट प्रदर्शन गरिनेछन्, जसले स्वचालन र कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतिनिधित्व गर्नेछन्। साथै, Deepal VTOL UAV जस्ता शहरी हवाई मोबिलिटी प्रविधिहरू पनि प्रदर्शनीमा समावेश हुनेछन्।

ब्रान्ड, सहभागी र क्षेत्रफल

यसपटकको नाडा अटो शोमा:

- १९ वटा चारपांग्रे ब्रान्ड

- १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड

- ४ वटा दुईपांग्रे ब्रान्ड

- ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायकहरू
समावेश हुनेछन्।

कुल १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने १ लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अनुमान गरिएको छ।

सुविधा र सुरक्षा व्यवस्थापन

सुरक्षा र सुविधालाई ध्यानमा राख्दै विभिन्न जोनहरूमा स्पष्ट विभाजन गरिएको छ — चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवा अलग-अलग खण्डमा रहनेछन्। मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य सेवा, सुरक्षा निगरानी र अग्नि नियन्त्रणको व्यवस्था समेत गरिएको छ।

मुख्य आकर्षणहरू

- विन्टेज मोटर शो: ऐतिहासिक सवारी जस्तै मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, भीडब्ल्यू बस, आदि।

- मेड इन नेपाल पेभेलियन: स्वदेशमै निर्माण गरिएका सवारीसाधन तथा अटो पार्ट्सहरूको प्रदर्शनी।

- इन्टरनेशनल बिजनेस पेभेलियन: अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धनको उद्देश्य।

- सेमिनार, कार्यशाला, अन्तरक्रिया: ईभी, स्मार्ट मोबिलिटी, र दिगोपन विषयमा गहन छलफल।

भाग्यशाली विजेतालाई एक वर्षको निःशुल्क सेवा

प्रत्येक दिन एक जना भाग्यशाली विजेता घोषणा गरिनेछ, जसले नेपाल ल्युब आयल लिमिटेडबाट एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्।

अध्यक्ष चौधरी भन्छन्, 'कतिपयले आफूलाई ठूलो वा उत्कृष्ट भन्न हल्ला गर्छन्, तर नाडा अटो शोले त तथ्य, निरन्तरता र विश्वसनीयताको आधारमा आफूलाई स्थापित गरिसकेको छ।' १६ संस्करणसम्म सफलतापूर्वक सञ्चालन भइसकेको नाडा अटो शो आज नेपालकै सबैभन्दा प्रतिष्ठित अटोमोटिभ मञ्चको रूपमा चिनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको