दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सबै सदस्य राष्ट्रहरूबीच सीमापार व्यापारलाई सहज र द्रुत बनाउन ठोस सहकार्य आवश्यक रहेको बताए । उनले भन्सार प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले मात्र व्यापारमा हुने ढिलाइलाई घटाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने तथा यसै माध्यमबाट क्षेत्रीय आर्थिक समृद्धि हासिल गर्ने साझा लक्ष्य पूरा गर्न सकिने समेत विश्वास व्यक्त गरे ।
सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टाराईले बैठकले सीमापार व्यापार, भन्सार प्रक्रिया र यातायात व्यवस्थापनमा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बताए। उनका अनुसार डिजिटल प्रविधिको प्रयोगले सीमा पार व्यापारलाई छिटो, सजिलो र पारदर्शी बनाउने दिशामा सदस्य राष्ट्रहरू अघि बढिरहेका छन्। भन्सार विभागका निर्देशक नारायण प्रसाद रेग्मीका अनुसार बैठकमा प्रमुख सीमा नाकाहरूमा कागजातको आदान-प्रदान, पूर्व सूचना प्रणालीको विकास, इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको प्रयोग, सीमा व्यवस्थापन र यातायात सहजीकरणलगायत विषयमा छलफल हुने छ।
सहभागी राष्ट्रका प्रतिनिधिहरूले सीमा क्षेत्रमा हुने प्रक्रियागत जटिलता, ढिलाइ र अकार्यक्षमता हटाउन प्रविधिको प्रयोग र अन्तर-सरकारी समन्वयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। बैठकबाट क्षेत्रीय व्यापार सम्बन्धी साझा नीतिको खाका तय गर्ने, भन्सार प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने, पूर्वाधार विकास र सूचना प्रविधिको प्रवर्द्धनमार्फत व्यापार सहजता बढाउने उपायहरू पहिचान हुने अपेक्षा गरिएको छ।
तीन दिनसम्म चल्ने यो बैठकले भन्सार र सीमा व्यवस्थापनमा सासेक राष्ट्रहरूको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस