स्थानीय किसानसँगै उपभोक्तालाई प्रत्यक्ष जोड्दै आएको कृषि प्रविधि कम्पनी ‘मेरो किसान’ले चितवनमा ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक शीत गृह निर्माणको काम सुरु गरेको छ।
सोमबार पटिहानीमा शिलान्यास गरिएको यो कोल्ड स्टोर ३ बिघा १० कठ्ठा क्षेत्रफलमा बन्नेछ र पाँच महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। यहाँ तरकारी, फलफूलदेखि खाद्यान्नसम्म प्रशोधन र दीर्घकालीन भण्डारण हुने व्यवस्था रहनेछ।
एपमार्फत खेतदेखि घरसम्म
‘मेरो किसान’ हाल आफ्नै मोबाइल एपमार्फत किसानका उत्पादन उपभोक्तासम्म पुर्याउँदै आएको छ। यस प्लाटफर्मले बिचौलिया हटाएर किसानलाई उचित मूल्य र उपभोक्तालाई ताजा सामान दिने उद्देश्य लिएको छ। कम्पनीको मूल मन्त्र ‘मेरो कृषि, मेरो गौरव’ हो।
मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योग
चितवनमा बन्ने प्रशोधन उद्योगमा कृषिजन्य वस्तुको गुणस्तर सुधार र मूल्य अभिवृद्धि हुने गरी प्रशोधन गरिनेछ। साथै कम्पनीले बिउ उत्पादन, मल तथा कीटनाशक आपूर्ति, उत्पादन परामर्श, पूर्वाधार विकास, बजार व्यवस्थापन र सहज ऋण सुविधा जस्ता क्षेत्रमा पनि पूँजी थप लगानी गर्ने योजना बनाएको छ। यसका लागि चाँडै नै सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी भइरहेको छ।
अनुभवी नेतृत्व
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक विष्णुमणी गौतम कम्पनीका अध्यक्ष हुन् भने युवा उद्यमी अविनाश सिलवाल प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस