सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।
गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए ।
अध्यक्ष लामाका अनुसार एशियाकै अग्लो ढुंगामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ ।
’विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुंगा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुंगा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं,’ उनले भने । उनले धार्मिक पर्यटन प्रवद्र्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्याउन र पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।
‘बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामाले भन्छन, ‘यो काम युगौ युगसम्म इतिहासमा कायम रहने छ ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे । विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाले दाबी गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस