गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.३२ प्रतिशतले घटेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बढाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै प्राधिकरणको नाफामा गिरावट देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताए । अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि हुने उनको दाबी छ । कार्यकारी निर्देशक शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५९१ गिगावाट पुगेको छ । प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आएको छ ।
प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावट विद्युत् उत्पादन क्षमता थप भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस