सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भदौ २४ गते साँझ लागेको आगलागीका कारण भायानेटको प्रमुख डाटा सेन्टर प्रभावित भएपछि देशभर इन्टरनेट तथा viaTV सेवा अवरुद्ध भएको छ। कम्पनीले माफी माग्दै सेवा पूर्णरूपमा पुनःस्थापना गर्ने कार्य जारी रहेको जनाएको छ।
भायानेटका अनुसार करिब ४:४५ बजे लागेको आगलागीका कारण भवन असुरक्षित भएपछि प्राविधिक टोली तत्काल प्रवेश गर्न नसके पनि ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाइएको थियो। तर, ती डाटा सेन्टरले सम्पूर्ण ग्राहकको ट्राफिक सम्हाल्न नसक्दा ठूलो संख्यामा प्रयोगकर्ता प्रभावित भएका थिए।
भदौ २५ गते बिहान सेना र प्रहरीले आगो नियन्त्रणमा ल्याएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोलीले जोखिम मोलेर आंशिक रूपमा जलेका सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको कम्पनीले जनाएको छ।
भायानेटका अनुसार अधिकांश ग्राहकको इन्टरनेट सेवा अहिले सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ। viaTV सेवा पनि चाँडै पुनः सञ्चालनमा आउने बताइएको छ।
“ग्राहकवृन्दको धैर्य, विश्वास र साथले हामीलाई थप मजबुत बनाएको छ। यस घटनाले हाम्रो नेटवर्कलाई अझ सुदृढ बनाउन प्रेरणा दिएको छ,” भायानेटले विज्ञप्तिमार्फत भनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस