नेकपा (एमाले) का सांसद महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै रिक्त प्रधानमन्त्री पदमा नियुक्ति संविधानअनुसार गर्नुपर्ने आग्रह गरेका छन्।
बर्तौलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा नेपालको संविधान २०७२ को धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष माग गरेका छन्। उनले संवैधानिक मार्ग बाहिर गएर कुनै कदम चालिए “देशका लागि ठूलो दुर्भाग्य” हुने चेतावनी दिएका छन्।
“प्रधानमन्त्री बन्ने व्यक्ति वा दल जुनसुकै भए पनि आपत्ति छैन, तर सार्वभौम जनताको मतबाट निर्वाचित संसदलाई अस्विकार गरी संविधान, व्यवस्था र लोकतन्त्रविरोधी शक्तिलाई देश सुम्पने महागल्ती नगरियोस्,” बर्तौलाले भनेका छन्।
उनले हालैको जेन-जी आन्दोलनलाई विदेशी शक्तिको इशारामा भएको दाबीलाई खारेज गर्दै त्यसलाई सरकारको बेथिति, विकृति र भ्रष्टाचारविरुद्धको न्यायोचित आन्दोलनका रूपमा व्याख्या गरेका छन्। साथै, आन्दोलनका जायज मागहरू सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने पनि उनले जोड दिए।
भदौ २३ गते भएको आन्दोलनमा सुरक्षाकर्मीले गरेको ‘निर्मम र पाशविक दमन’ र त्यसपछिका दिनमा देखिएका आगजनी, तोडफोड र लुटपाट घटनाप्रति बर्तौलाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न र दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
“यो कार्यका लागि हाम्रो पूर्ण साथ र समर्थन रहन्छ,” बर्तौलाले आफ्नो सन्देशमा स्पष्ट पारेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस