प्रधानमन्त्रीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र विपद् जोखिमको सम्भावना रहेको भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै सचिवालयले कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भई कतिपय स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्ने जनाएको छ। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना देखिएको छ।
त्यस्तै, मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने साना नदीनालामा आकस्मिक खहरे बाढी आउन सक्ने चेतावनी दिइएको छ। काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट र सर्लाहीका नदीहरूमा पनि आकस्मिक रूपमा पानी बढ्ने अनुमान गरिएको छ।
सचिवालयले ती स्थानमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन, डुबान हुने क्षेत्रमा सुरक्षित स्थानमा सर्न, गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई सुरक्षित ठाउँमा सार्न विशेष तयारी गर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, उद्धारकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था र आपतकालीन कार्य सञ्चालन केन्द्रलाई उच्च सक्रियताका साथ विपद् पूर्वतयारी, प्रतिकार्य, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न निर्देशन दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस