Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा थुप्रियो साढे ११ खर्ब, निक्षेपको वृद्धि दशककै उच्च तर कर्जा सबैभन्दा कमजोर

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, ११ : १४ मा प्रकाशित

बैंकमा थुप्रियो साढे ११ खर्ब, निक्षेपको वृद्धि दशककै उच्च तर कर्जा सबैभन्दा कमजोर

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकिङ प्रणालीमा कर्जा विस्तार झन् कमजोर देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार बैंकहरूले केवल ७९ अर्ब रुपैयाँ अर्थात् डेढ प्रतिशतले कर्जा बढाएका छन् जुन पछिल्लो एक दशकमा दोस्रो न्यून कर्जा वृद्धि हो।

यसको विपरीत बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप भने २ खर्ब १० अर्ब रुपैयाँले बढेर ७५ खर्ब १४ अर्ब पुगेको छ। यसले देखाउँछ कि बैंकहरूमा अधिक तरलता  थुप्रिएको छ तर लगानीका लागि कर्जा माग अपेक्षाभन्दा कम छ । अहिले बैंकहरूले १०० रुपैयाँ निक्षेप संकलन गर्दा केवल ७४.६३ रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् जबकि नेपाल राष्ट्र बैंकले ९० प्रतिशत सीडी रेसियो कायम गर्न निर्देशन दिएको छ। भदौ २३–२४ को जेनजी आन्दोलन र असोजको बाढी–पहिरोले व्यवसायिक गतिविधि प्रभावित भएका कारण पहिलो त्रैमासमा कर्जा विस्तार कमजोर भएको जानकारहरुले बताएका छन्। साथै,निजी क्षेत्रमा लगानीको सुरक्षा सुनिश्चित नहुँदा लगानीकर्ता पछि हटेका छन्।  यसकारण बैंकहरूको तरलता बढ्दा पनि कर्जा माग कमजोर देखिएको छ।

असोज मसान्तमा मात्र बैंकहरूले ३० अर्ब रुपैयाँ कर्जा बढाएका थिए। यसले कर्जा ‘एभरग्रिनिङ’ वा अस्वाभाविक रूपमा बढेको आशंका बढाएको छ। बैंकिङ प्रणालीमा प्रत्येक त्रैमासको अन्त्यमा कर्जा बढ्ने प्रवृत्ति रहँदा पुँजी कर्जा मार्गदर्शन कार्यान्वयन भए पनि लगानीका लागि नयाँ ऋण प्रयोग अपेक्षित स्तरमा पुग्न सकेको छैन।  पछिल्ला तीन वर्षदेखि पहिलो त्रैमासमा कर्जा वृद्धिदर निक्षेपको तुलनामा कम देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा पहिलो त्रैमासमा कर्जा मात्र ६३ अर्बले बढ्दा निक्षेप १३ अर्ब मात्र बढेको थियो। आर्थिक वर्ष २०८०/८१ मा कर्जा १ खर्ब २१ अर्बले बढ्दा निक्षेप १ खर्ब ४३ अर्बले वृद्धि भएको थियो। चालु आर्थिक वर्षमा भने कर्जा ७९ अर्ब मात्र बढ्दा निक्षेप २ खर्ब १० अर्बले उच्च वृद्धि भएको छ।

बैंकहरूले लगानी गर्न नसकेपछि राष्ट्र बैंकमा राखेको रकम ८ खर्ब २५ अर्बभन्दा माथि पुगेको छ।  निक्षेपको यो उच्च वृद्धि र कर्जा विस्तारको कमजोर अवस्था दीर्घकालीन रूपमा बैंकिङ प्रणालीमा चुनौती निम्त्याउन सक्ने जानकारहरुले बताएका छन् । बैंकहरूलाई लगानीयोग्य ऋण प्रवाह बढाउने र निजी क्षेत्रलाई लगानीको सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उनीहरूको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको