Like us!
Follow us!
Connect us!
Watch us!

उत्तर कोरियाले एकै पटक करिब १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया र जापानमा बढ्यो सुरक्षा चिन्ता

अर्थ संसार

शनिबार, ३० फागुन २०८२, १३ : ०३ मा प्रकाशित

उत्तर कोरियाले एकै पटक करिब १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया र जापानमा बढ्यो सुरक्षा चिन्ता

उत्तर कोरियाले शनिबार करिब १० वटा अज्ञात प्रकृतिका ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टि गरेका छन्।

दक्षिण कोरियाली सेनाका संयुक्त प्रमुखहरूको समितिले जारी गरेको वक्तव्य अनुसार ती क्षेप्यास्त्रहरू प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट प्रहार गरिएको थियो। स्थानीय समय अनुसार दिउँसो करिब १ः२० बजे प्रक्षेपण गरिएको ती क्षेप्यास्त्रहरू जापान सागर (दुवै कोरियाले पूर्वी समुद्र भनेर चिन्ने) तर्फ गएको बताइएको छ।

दक्षिण कोरियाली सेनाले आफ्नो निगरानी प्रणालीमार्फत् करिब १० वटा अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ।

यता जापानको रक्षा मन्त्रालयले पनि सामाजिक सञ्जालमार्फत् उत्तर कोरियाबाट सम्भावित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त प्रक्षेप्यास्त्र समुद्रमा खसिसकेको अनुमान गरिएको छ।

पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको अवस्थामा यो परीक्षण गरिएको हो। विशेषगरी दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले कडा आपत्ति जनाउँदै आएको छ। प्योङयाङले उक्त अभ्यासलाई उक्साहटपूर्ण कदम भन्दै “गम्भीर परिणाम” निम्तिन सक्ने चेतावनीसमेत दिएको थियो।

यसअघि केही दिनअघि उत्तर कोरियाले ‘चोए ह्योन’ नामक विनाशक युद्धपोतबाट रणनीतिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो। राज्य सञ्चार माध्यमहरूले सार्वजनिक गरेका तस्वीरहरूमा उत्तर कोरियाली नेता किम जोङ उन आफ्नी छोरी किम जु ए सँगै परीक्षण अवलोकन गरिरहेको देखिएको थियो।

यसैबीच शनिबार दक्षिण कोरियाका प्रधानमन्त्री किम मिन–सोक र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिङ्टनमा भेटवार्ता भएको बताइएको छ। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार उक्त भेटमा ट्रम्प र किम जोङ उनबीच सम्भावित वार्ता पुनः सुरु गर्ने विषयमा पनि छलफल भएको छ।

उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणले कोरियाली प्रायद्वीप र आसपासको क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको विश्लेषकहरूले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको