सरकारी निकायका विभिन्न कोषमा ४० अर्ब भन्दा बढी रकम रहेको पाइएको छ । सरकारी निकायका विभिन्न १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको हो ।
हालै सरकारले गराएको एक अध्ययनअनुसार सार्वजनिक संस्था÷निकायहरुमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका छन् । विनियमावली अनुसार उनीहरुले कर्मचारीले पाउने रकम भुक्तानी गर्न कोष खडा गरी आफैँले व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ ।
१० वटा कोषमध्ये राष्ट्रिय वाणिज्य बैकसँग मात्रै २५ अर्ब ७१ करोड रुपैयाँ छ । त्यस्तै सरकारको लगानी रहेको कृषि विकास बैंकसँग उक्त कोषमा १२ अर्ब २० करोड रहेको छ । त्यस्तै अर्को सरकारी स्वामित्वको कम्पनी नेपाल वायुसेवा निगमसँग पनि यस्तो कोषमा ६१ करोड रुपैयाँ रहेको छ । सार्वजनिक सेवा प्रशारण नेपालसँग पनि अवकाश तथा उपदान कोषमा ४२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३८ करोड, नेपाल पर्यटन बोर्ड ३५ करोड रुपैयाँ छ भने नेपाल धितोपत्र बोर्डसँग त्यस्तो कोषमा १८ करोड भन्दा बढी रकम मौज्दात रहेको छ । त्यस्तै, नेपाल खानेपानी संस्थानसँग १२ करोड, जडिबुटी तथा प्रशोधन कम्पनी लिमिटेडसँग ७ करोड, काठमाडौं उपत्यका खानेपानी बोर्डसँग ३ करोड भन्दा बढी रकम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस