चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।
समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन्। परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अग्रस्थानमा रहेको छ। कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा परियोजना आईसीटीसँग सम्बन्धित छन्, जसले कुल परियोजनाको आधाभन्दा बढी हिस्सा ओगटेको देखिन्छ। आईसीटी क्षेत्रको विस्तारसँगै आगामी दिनमा यसले राष्ट्रिय अर्थतन्त्रमा आफ्नो योगदान थप वृद्धि गर्ने अपेक्षा गरिएको छ। यद्यपि, लगानी रकमका हिसाबले कृषि तथा वनजन्य उद्योग क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ। त्यसपछि पर्यटन क्षेत्र उल्लेखनीय देखिएको छ, जहाँ १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ।
क्षेत्रगत रूपमा हेर्दा पाँच महिनाको अवधिमा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत लगानी आएको छ। परियोजनाको संख्या धेरै भए पनि आईसीटी क्षेत्रमा आएको कुल लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित रहेको छ।
परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योग रहेका छन्। उद्योग विभागका अनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिब १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जसमा अधिकांश साना उद्योग रहेका छन्। यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति पाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस