Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको ढाडस र सेबोनको बाचाले बढेको सेयर बजार, दिगो सुधार कि क्षणिक उत्साह ?

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १५ : २० मा प्रकाशित

प्रधानमन्त्रीको ढाडस र सेबोनको बाचाले बढेको सेयर बजार, दिगो सुधार कि क्षणिक उत्साह ?

नयाँ आर्थिक वर्ष सुरु हुनु भन्दा ३ दिन पहिले लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ताला लगाउन गए । पुँजी बजारका लागि गर्नु पर्ने काम नगर्ने बोर्ड खुला राख्नुको कुनै औचित्य नभएको भन्दै लगानीकर्ताहरु ताला लगाउन भन्दै असार ३० गते विहान ९ बजे सेबोन पुगे । उनीहरुले ताला लगाउने भन्ने विषयमा अग्रिम जानकारी पाएको बोर्ड नेतृत्वल प्रहरीको सहयोग माग्यो । प्रहरीको उपस्थितिले लगानीकर्ताहरुले बोर्डमा ताला लगाउन सकेनन् । करिब ३ घण्टा जति लगानीकर्ताहरु बोर्डको गेट बाहिर मिडियामा आफ्नो कुराहरु राखिरहे । 

त्यसै बीचमा लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाई सेबोनका अध्यक्ष डा. गोपाल भट्टले फोन गरेर लगानीकर्ताको माग पुरा गर्ने आश्वासन दिए । अध्यक्ष भट्टले कोइरालाई भने, ‘आन्दोलन रोकेर लगानीकर्ताहरुलाई फिर्ता जान भन्नु होस् । तपाइहरुको माग पुरा गर्न बोर्ड तयार छ ।’ अध्यक्षको आश्वासन पछि कोइरालाले बोर्ड परिषर खुमलटार पुगेका लगानीकर्ताहरुलाई फिर्ता जानका लागि आग्रह गरे । सबै लगानी कर्ता त्यहाँबाट फर्किए । बोर्डका अध्यक्षले अर्थमन्त्रीसँग छलफल गरेर पुँजी बजार सुधारको कार्ययोजना सार्वजनिक गर्ने बाचा गरे । उनले गरेको बाचा अनुसार सोही दिन साँझ पुँजी बजार सुधार कार्ययोजना र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक भयो । 

बोर्डले ल्याएको ती कार्यक्रममा पुँजी बजारका लगानीकर्ताहरुले उठाएका अधिकांश मागहरु पुरा गर्ने विषयहरु समावेश गरियो । बोर्डले नीति तथा कार्यक्रम तथा पुँजी बजारको सुधारका लागि कार्ययोजना ल्याउने समाचार सार्वजनिक भए पछि निकै दिन देखि घटिरहेको सेयर बजार असार ३१ गते बढ्यो । साँझ नीति तथा कार्यक्रम र कार्ययोजना पनि सार्वजनिक भयो । 

सुधारको लागि बोर्डले कदम चाल्ने अपेक्षा बीच उक्त दिन सेयर बजार बढ्यो । असार ३१ गते ६ अंकले बढेको नेप्से त्यस पछि लगातार रुपमा ६ दिन सम्म बजार बढ्यो । असार ३१ गते १४ अंकले बढेको बजार साउन अन्तिम दिन ३२ गते पनि ७ अंकले बढेर गत आर्थिक वर्षलाई विट मार्‍यो । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन शुक्रबार बजार करिब ८० अंकले बढेर नेप्से परिसूचक २६७७ विन्दुमा पुग्यो । लगातार रुपमा बजार घटेर २५०० विन्दुमा पुगेको नेप्से नयाँ आर्थिक वर्ष सुरु हुने समयमा करिब २७०० विन्दु नजिक पुग्यो । चालु आर्थिक वर्षको दोस्रो दिन पनि बजार ४१ अंकले बढेर बन्द भयो । साउन ५ गते पनि बजार बढेर कारोबार भयो । उक्त दिन बजार ७ अंकले बढेर कारोबार बन्द भयो । उक्त दिन नेप्से परिसूचक २७५४ विन्दुसम्म पुगेर २७२६ मा बन्द भयो । 

नयाँ सरकार बने पछि लगातार रुपमा घटेर ३५० विन्दुको गिरावट आएको बजार पछिल्ला केही कारोबारमा नै १२८ अंकले बढेर नेप्सेमा सुधारको संकेत देखियो । यसै बीचमा प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ता, ब्रोकर र नियामक निकायका प्रमुखहरुसँग सेयर बजारका समस्याका विषयमा छलफल गरे । प्रधानमन्त्रीले लगानीकर्ताहरुसँग सेयर बजारमा सुधारका लागि काम गरिरहेको र गर्नु पर्ने कामका विषयमा जानकारी लिएको लगानीकर्ता अम्बीका पौडेलले जानकारी दिए । प्रधानमन्त्रीले सेयर बजारको सुधारका लागि आफू सकारात्मक रहेको बताएको पौडेलको भनाइ छ । 

प्रधानमन्त्रीले साउन ४ गते सेयर बजारका सरोकारवालाहरुलाई राखेर बजार सुधारका लागि सरकार तयार रहेको आश्वासन दिए । प्रधानमन्त्रीको आश्वासन पछि बजार ४१ अंकले बढ्यो । बुधबार भने बजारमा दोहोरो अंकको करेक्न भयो । उक्त दिन नेप्से परिसूचक १३ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आयो । बिहीबार बजार फेरि १४ अंकले बढेर कारोबार बन्द भयो । लगातार रुपमा बढिरहेको अवस्थामा आएको गिरावटलाई करेक्सन भन्न सकिने भयो । तर, फेरि लगातार रुपमा बजार घट्यो भने बालेनको ढाडसले बढ्ने जति बजार बढ्यो अब फेरि घट्छ भन्ने कुरालाई पुष्टि गर्ने छ ।  

बजार सेन्टिमेन्टलले घटबढ हुने भएकाले प्रधानमन्त्रीको सक्रियाता र बोर्डले ल्याएको नीति तथा कार्यक्रम तथा सुधारको कार्ययोजनाले बजार बढ्नमा सहयोग पुगेको लगानीकर्ताहरुले बताएका छन् । तर, बालेनको ढाडसले मात्रै भन्दा पनि बजार नीतिगत सुधार र आर्थिक सुधारले बढ्नु पर्ने तर्क धेरैको छ । अर्थतन्त्रमा सुधार नहुँदासम्म बजारका लागि जतिसुकै राम्रो नीति ल्याए पनि बजारमा उत्साह नदेखिने अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । समग्र अर्थतन्त्रमा सुधार नहुँदासम्म पुँजी बजारमा सुधार हुनै नसक्ने उनले बताए । ‘पुँजी बजार दिर्घकालिन रुपमा बढ्नका लागि कम्पनीको नाफा बढन् पर्छ । अर्थतन्त्र बढेर सकारात्मक अवस्थामा पुग्यो भने पुँजी बजार पनि बढ्छ,’ उनले भने । अर्थतन्त्रमा सुधार नभएको अवस्थामा नै पुँजी बजार बढ्ने अपेक्षा गर्नु नै गलत हुने अधिकारीको भनाइ छ । 

सेन्टिमेन्टलले काम गर्ने भएकाले अहिले लाभांशको आशा र सरकारले देखाएको चासोका कारणले बजार बढेको भए पनि दिर्घकालिनसम्म भने नजाने सेयर बजारका जानकारहरुको भनाइ छ । लगानीकर्ताहरु पनि अहिले बजार बढ्नुको कारण केही दिन देखि सरकारले देखाएको चासो र आर्थिक वर्ष सुरु भएको समयमा लाभांशका लागि धेरै समय कुर्नु पर्ने कारणले पनि बजार बढेको हो । अहिले बजारका लागि सबै सूचक सकारात्मक हुँदा पनि बजार घटिरहेको अवस्थामा सरकारले लिएको चासोले बजार बढेको लगानीकर्ता तारा फुल्लेलको भनाइ छ । आर्थिक वर्षको सुरुवातका समयमा नेपालको पुँजी बजार जहिले पनि बढ्ने गरेको छ । विगत १५–१६ वर्षको अवधिमा एक वर्ष बाहेक हरेक वर्ष नयाँ आर्थिक वर्ष सुरु हुँदा पुँजी बजार बढ्ने गरेको लगानीकर्ता जगन्नाथ ढंगेलको भनाइ छ । 

लगानीकर्ता तथा अर्थविदहरुको कुरालाई मनन गर्दा सेयर बजारको अहिलेको वृद्धि केबल मनोवैज्ञानीक र प्रधानमन्त्रीको ढाडस मात्रै हो । केही मात्रामा आर्थिक वर्ष सुरु भएको अवस्थामा लाभांशको आसले बजारमा केही उत्साह देखिएको हो । यदि अर्थतन्त्रलाई नै सुधार गरेर दिर्घकालिन योजनामा नजाने हो भने केही दिनका लागि बढेको बजार केही दिनमै फेरि पहिलेकै अवस्थामा आइपुग्न धेरै दिन लाग्ने छैन । आम लगानीकर्तालाई वातावरण बनाउने भन्दा पनि समग्र अर्थतन्त्रलाई सुधार गरेर पुँजी बजार मात्रै होइन सबै क्षेत्रलाई चलायमान बनाउन तर्फ अहिलेको सरकारले लाग्नु पर्ने आवश्यक देखिन्छ । होइन भने प्रधानमन्त्रीको ढाडसले बढेको पुँजी बजार दिर्घकालसम्म नपुग्ने निश्चित छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको