नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
नाफिजका १६ जना सदस्य सहभागी रहेको दुई दिने कार्यक्रममा तीन जना प्रशिक्षकहरूले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए ।
आइतबार दुई सेसन र सोमबार दुई सेसनमा गरेर चार सेसनमा तालिम प्रदान गरिएको थियो । खोज पत्रकारिताका विषयमा नाफिजका निर्वतमान अध्यक्ष मोदनाथ ढकाल सहित रुद्र पंगेनी र श्रीधर खनालले सहभागीहरूलाई तालिम प्रदान गरेका थिए ।
प्रशिक्षक रुद्र पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनु पर्ने कुरा, आवश्यक तथ्यांक तथा प्रमाणहरु संकलन गर्ने र शिलशिलेबार रुपमा गर्नु पर्ने कामका विषयमा सहभागीहरूलाई जानकारी दिएका थिए । सहभागीहरुलाई डिजिटल प्लेटफर्ममा कसरी अभ्यस्त हुने र कसरी आवश्यक सुचना तथा जानकारी लिने भन्ने विषयमा समेत जानकारी गराएका थिए ।
प्रशिक्षक श्रीधर खनालले अहिलेको अवस्थामा खोज पत्रकारिता र तथ्यांकको प्रयोगका विषयमा जानकारी दिएका थिए । पत्रकारले आफूलाई परिस्थिति र प्रविधिमा अभ्यस्त गराउन आवश्यक रहेको उनले बताए । यस्तै, मोदनाथ ढकालले तथ्यांकमा टेकेर समाचार खेल्नु पर्ने र त्यसले समाचारलाई बलियो बनाउने बताए । साथै, नजानेको कुरा बुझ्न र सिक्नका लागि पछि नहट्नका लागि उनले आग्रह गरे ।
कार्यक्रममा सहभागि नाफिज सदस्यहरुले तालिमबाट नयाँ कुरा सिक्न पाएकोमा खुसी व्यक्ति गरे । आफूले सिकेका कुरालाई आफू आवद्ध संस्थामा कार्यान्वयन गर्ने उनीहरुको भनाइ थियो ।
नाफिज अध्यक्ष मेनुका कर्कीले यस्ता कार्यक्रमले नाफिजका सदस्यहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् । सदस्यहरुको क्षमता अभिवृद्धिनै नाफिजको मुल मन्त्र रहेको उनको भनाइ थियो । सदस्यहरुको सुझाबका आधारमा आगामी दिनमा पनि तालिमका कार्यक्रमहरु गरिने उनले प्रतिवद्धता व्यक्त गरिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस