गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा समेत बढेको हो ।
२०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा देशको व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो । गत आवमा कुल २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको आयात भएको छ । यो आघिल्लो आवको आयातको तुलनाम १६.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ । गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५०० रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८१/८२मा आयात–निर्यात अनुपात पनि बढेको छ । अघिल्लो वर्ष ६.५१ रहेको आयात–निर्यात अनुपात गत वर्षमा बढेर ६.६५ पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा पुगेको छ भने आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस