बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी ८० वर्षीया जियाको राजधानी ढाका स्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
मंगलबार जारी विज्ञप्तिमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले खालिदा जियाको स्थानीय समयअनुसार बिहान ६ बजे निधन भएको जनाएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था सोमबारदेखि नै अत्यन्तै गम्भीर बनेको थियो। उमेर र समग्र स्वास्थ्य कमजोर भएकाले एकैपटक धेरै उपचार सम्भव नभएपछि उनलाई जीवनरक्षक प्रणाली (लाइफ सपोर्ट) मा राखिएको थियो। खालिदा जिया सन् १९९१ मा २० वर्षपछि सम्पन्न बङ्गलादेशको पहिलो लोकतान्त्रिक निर्वाचनमा बीएनपीलाई विजय गराउँदै देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। उनी सन् १९९६ मा छोटो अवधिका लागि र पुनः सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन्।
उनको राजनीतिक जीवन बङ्गलादेशको राजनीतिमा दशकौँसम्म प्रभावशाली रह्यो। खालिदा जिया र अवामी लिग नेतृ तथा पूर्व प्रधानमन्त्री शेख हसिनाबीचको तीव्र राजनीतिक प्रतिद्वन्द्विताले लामो समयसम्म देशको राजनीति ततायाे। पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नीका रूपमा सार्वजनिक जीवनमा देखिएकी खालिदा जिया, सन् १९८१ मा श्रीमान्को सैनिक कूमा हत्या भएपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् र पछि बीएनपीको नेतृत्व सम्हालिन्।
उनको राजनीतिक यात्रामा भ्रष्टाचारसम्बन्धी आरोपहरू पनि लागेका थिए। शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पालामा सन् २०१८ मा उनलाई भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएको थियो। तर जियाले ती आरोपलाई राजनीतिक प्रतिशोध भएको बताउँदै अस्वीकार गर्दै आएकी थिइन्। गत वर्ष बङ्गलादेशमा भएको जनआन्दोलनपछि शेख हसिना पदच्युत भई निर्वासनमा जानुपरेपछि खालिदा जिया रिहा भएकी थिइन्।
स्वास्थ्य कमजोर हुँदाहुँदै पनि बीएनपीले आगामी फेब्रुअरीमा अपेक्षित आम निर्वाचनमा उनी सहभागी हुने बताउँदै आएको थियो। बीएनपी सत्तामा फर्किने तयारीमा रहेको र त्यसो भएमा खालिदा जियाका छोरा तारिक रहमान देशको नयाँ नेतृत्वमा आउने सम्भावना रहेको बताइँदै आएको छ। ६० वर्षीय रहमान १७ वर्षको आत्मनिर्वासनपछि गत साता मात्र बङ्गलादेश फर्किएका थिए।
खालिदा जिया पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिइन्। उनी मिर्गौला क्षति, मुटुरोग र निमोनियालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन्। उनका अन्तिम क्षणमा परिवारका सदस्यहरू, छोरा तारिक रहमान, बुहारी र नातिनी उनको साथमा रहेको बीएनपीले जनाएको छ।
अन्तरिम नेता मोहम्मद युनुसले समेत उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै देशवासीलाई प्रार्थना गर्न आह्वान गरेका थिए। बीएनपीले विज्ञप्तिमार्फत खालिदा जियाको आत्माको चिरशान्तिको कामना गर्दै सबैलाई श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस