गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको प्रत्याभूति गर्दै निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको दाबी गरेका छन्।
बिहीबार अध्यागमन विभागले काठमाडौंमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्ने, सूचना प्रवाहलाई सहज बनाउने, सम्भावित अपराध नियन्त्रण गर्ने र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले शुभारम्भ गरिएको यो प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीको विकासमा ‘एक कोशेढुंगा’ सावित हुने विश्वास व्यक्त गरे। यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले एफएनएमआइएस प्रणालीले अध्यागमन कानुनअनुसार विदेशी नागरिकको आवतजावत र बसाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए। उनका अनुसार यसले विदेशी नागरिकको व्यक्तिगत सुरक्षा सुदृढ गर्न, विपद्का बेला खोज तथा उद्धार कार्यमा सहजीकरण गर्न, नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानी गर्न र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ। साथै, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो प्रणाली उपयोगी हुने विश्वास उनले व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस