खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपमार्फत नगद झिक्न सक्ने भएका छन्। यसका लागि नबिल बैंक र खल्ती वालेटबीच औपचारिक सम्झौता भएको हो।
सम्झौताअनुसार खल्ती प्रयोगकर्ताले देशभर रहेका नबिल बैंकका एटिएमबाट कुनै पनि कार्ड प्रयोग नगरी सजिलै खल्ती वालेटमा रहेको रकम नगदका रूपमा निकाल्न सक्नेछन्। वालेट र एटिएम कारोबार प्रणालीलाई आपसमा जोड्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले दैनिक अधिकतम ५ हजार रुपैयाँ र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँसम्म नगद निकाल्न सक्नेछन्।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । 'नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रुपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो', उनले भने । 'नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रुपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ,'उनले थपे ।
खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण प्रयास भएको बताए । “यस सम्झौताले बैंकको ठूलो सञ्जालमा एप प्रयोगकर्ताहरुको पहुँच सहज रुपमा स्थापित गर्न सहयोग पुग्नेछ, हामी हाम्रा वित्तीय कारोबारलाई छिटो, सजिलो र अन्तरनिहीत रुपमा सुरक्षित बनाउने योजनाअनुसार सम्झौता भएको हो ।”
यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् । त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ ।
यो सुविधा जुनसकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस