जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनाका बेला जिपमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय राजु अधिकारी रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी तथा दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस