नेपाल राष्ट्र बैंकले नगद कारोबारमा कडाइ गरेको छ । यसअघि १० लाख रुपैयाँसम्म कायम रहेको नगद कारोबारको अधिकतम सीमालाई ५ लाख रुपैयाँमा झारिएको हो ।
राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तलाई छुट्टै परिपत्र जारी गर्दै यही माघ १ देखि पाँच लाख रुपैयाँभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्यरूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो व्यवस्थाअनुसार कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी चेकमार्फत मात्र हुनुपर्नेछ ।
प्राथमिकताप्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चारजस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्पमार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन । सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफ्ना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । यसैगरी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न, (बैंक तथा वित्तीय संस्थाले यस व्यवस्था बमोजिम नगद भुक्तानी) दिन सक्ने र दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
यसअघि भने बैंक तथा वित्तीय संस्थाले १० लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्यरूपमा एकाउन्टपेयी चेकमार्फत वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेे व्यवस्था रहेको थियो । सरकारले गत मंसिर १५ गते नै नगद कारोबारको सीमा ५ लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको र अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशन गरेपछि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै नगद कारोबारको सीमा घटाउन निर्देशन दिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस