बैंकङ क्षेत्रको सुरक्षाका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बीच छलफल भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारीमाथि निरन्तर रुपमा आक्रमण र हिंसात्मक घटनाहरू बढ्दो अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सक्रिय बन्न थालेको हो ।
राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितको विषयमा छलफल गरेका हुन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेको सुरक्षा चुनौतीलाई गम्भीर रुपमा लिएर छलफल सुरु गरेका हुन् । छलफलमा बैंकर्स एसोसिएसनका पदाधिकारीहरू पनि सहभागी भएका थिए । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि निरन्तर आक्रमण भइरहेका छन् । विशेषगरी कर्जा उठाउन फिल्डमा जाने कर्मचारीमाथि ऋणीहरूले भौतिक हमला गर्ने, धम्की दिने र लुटपाटसमेत गर्ने घटनाहरू बढेका छन् । यसले बैंकिङ क्षेत्रका कर्मचारीहरूको मनोबलमा प्रतिकूल प्रभाव पारेको छ ।
मंसिर २५ गते सप्तकोशीमा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि कालोमोसो लगाएर दुरव्यवहार गरिएको थियो । त्यसैगरी, पुस २२ गते घोराहीमा इन्भेष्टमेन्ट मेगा बैंकका ब्रान्च म्यानेजरसहित २ कर्मचारीमाथि हमला भएको थियो । पुस २१ गते एनआईसी एशिया बैंकका कर्मचारीमाथि ऋणीले दुरव्यवहार गर्दै आत्मदहाको प्रयास गरेका थिए । यसैगरी, पुस २८ गते फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट भएको थियो भने पुस २९ गते नेपाल एसबिआई बैंकमा पनि लुटपाटको घटना घटेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस