नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ। पार्टीका सचिव महेश बस्नेतले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको प्रत्यक्ष प्रहारको संज्ञा दिएका छन्।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचन आयोगजस्तो संवैधानिक संस्थामै बाह्य हस्तक्षेप देखिनु गम्भीर र चिन्ताजनक विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो निर्णयले संवैधानिक संस्थाको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।
उनले वर्तमान अवस्थालाई केवल एक राजनीतिक दलको आन्तरिक विषयका रूपमा सीमित नराखी लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनतासँग जोडिएको गम्भीर संकटका रूपमा चित्रण गरेका छन्। यस्तो परिस्थितिमा लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितका पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
महेश बस्नेतले अब परिस्थितिको सामना वैकल्पिक र पर्यायी आन्दोलनमार्फत गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै चुप लागेर बस्नु लोकतान्त्रिक मूल्यहरूप्रति बेइमानी हुने चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस