राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच हालै भएको भेटवार्तालाई सकारात्मक दिशातर्फको संकेतका रूपमा हेरिएको छ। उक्त छलफल आपसी विश्वास र सम्भावित सहकार्यतर्फ उन्मुख देखिएको रास्वपाका नेताहरूको भनाइ छ।
दुवै नेताबीच सोमबार साँझदेखि मध्यरातसम्म राजधानीको कमलपोखरी क्षेत्रमा अवस्थित एक निजी कार्यालयमा लामो संवाद भएको हो। छलफल व्यवस्थापनमा संलग्न रास्वपा नेता असिम शाहका अनुसार भेटघाट करिब छ घण्टा चलेको थियो र यस क्रममा सामूहिक तथा व्यक्तिगत दुवै तहमा विचार–विनिमय भएको थियो।
शाहले सामाजिक सञ्जालमार्फत् यो भेटलाई “सुखद सुरुवात” को संज्ञा दिँदै दुई नेताबीचको संवाद केवल व्यक्तिगत सीमामा सीमित नरहेको संकेत गरेका छन्। उनले छलफलपछि दुवै नेता एउटै सवारी साधनमा कार्यालयबाट बाहिरिएको उल्लेख गर्दै यसलाई बढ्दो समझदारीको संकेतका रूपमा व्याख्या गरेका छन्।
छलफलमा समसामयिक राजनीति, शक्ति सन्तुलन, भावी सहकार्यको ढाँचा तथा सम्भावित रणनीतिहरूबारे गम्भीर कुराकानी भएको बताइन्छ। भेटमा सहभागी केही नेताहरूका अनुसार आगामी दिनमा एकअर्कालाई सहयोग गर्ने निष्कर्षतर्फ संवाद अघि बढेको थियो।
लामिछाने धरौटीमा रिहा भएपछि बालेनसँग भएको यो दोस्रो भेट हो। यसअघि उनी कारागारमा रहँदा पनि अप्रत्यक्ष रूपमा सम्पर्क कायम रहेको बताइएको छ। पछिल्ला गतिविधिहरूले दुवै नेताबीचको सम्बन्ध थप सक्रिय बन्दै गएको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा छ।
राजनीतिक रूपमा दुवैलाई एउटै धारमा ल्याउने प्रयास भइरहेको चर्चा चलिरहे पनि तत्काल एउटै दलमा समेटिनेभन्दा आगामी निर्वाचनमा सहकार्यको विकल्पमा केन्द्रित छलफल भइरहेको नेताहरूको भनाइ छ। यस भेटले स्थापित दलहरूमा समेत चासो र दबाब सिर्जना गरेको विश्लेषकहरू बताउँछन्।
रास्वपाका उपसभापति अर्यालका अनुसार उक्त भेटवार्तासम्बन्धी थप विवरण आज सार्वजनिक गरिने तयारी भइरहेको छ। यसअघि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि एक्लै भेट गरेका थिए भने ऊर्जामन्त्री कुलमान घिसिङसँग भेटघाटको तयारीसमेत चलिरहेको बताइएको छ।
सहकारी रकम दुरुपयोग प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछाने रिहा भएपछि पुनः राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेका छन्, जसले आगामी राजनीतिक समीकरणलाई थप चासोपूर्ण बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस