महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको बुधबार बिहान पुणे जिल्लामा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। अधिकारीहरूका अनुसार उनीहरू सवार लियरजेट–४५ विमान पुणेको बारामती क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
प्रारम्भिक जानकारीअनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमानको नियन्त्रण गुमेपछि क्र्यास ल्यान्डिङ भएको थियो। दुर्घटनाका बेला विमानमा कुल पाँच जना सवार थिए। मृतकहरूमा उपमुख्यमन्त्री अजित पवार, उनका दुई कर्मचारी (एक पीएसओ र एक सहयोगी) तथा दुई जना चालक दलका सदस्य—पाइलट–इन–कमाण्ड र फर्स्ट अफिसर—रहेका छन्। महाराष्ट्र सरकारले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी दुर्घटनाबारे जानकारी लिएका छन् र घटनाको अपडेट मागेका छन्।
अजित पवार वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का संस्थापक शरद पवारका भतिजा हुन्। उनी लोकसभा सांसद सुप्रिया सुलेका कजिन पनि हुन्। अजित पवार महाराष्ट्रका सबैभन्दा लामो समय उपमुख्यमन्त्री रहने नेतामध्ये एक थिए। उनले विभिन्न सरकारहरूमा गरी छ पटक उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्दे नेतृत्वका मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए। अजित पवार सुनैत्रा पवारसँग विवाहित थिए र उनका दुई छोरा जय पवार र पार्थ पवार छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस