Like us!
Follow us!
Connect us!
Watch us!

धेरै ब्याजदरको आशा देखाएर झुक्याए बैंकहरुले

मंगलबार, २२ फागुन २०७४, १३ : २० मा प्रकाशित

धेरै ब्याजदरको आशा देखाएर झुक्याए बैंकहरुले

अर्थ संसार, काठमाडौं– कुमारी बैंकले व्यक्तिगत निक्षेपकर्तालाई ‘नागरिक बचत खाता’मा साढे ९ प्रतिशत व्याजदर दिने भन्दै सूचना जारी गरेको एक महिना नपुग्दै ८ प्रतिशतमा झारेको छ। सोमबारदेखि लागू हुनेगरी व्याजदर ८ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

त्यसैगरी सिद्धार्थ बैंकले पनि ९ प्रतिशत व्याजदर दिनेगरी फागुन २ गते ‘प्लाटिनम बचत खाता’ योजना सार्वजनिक गर्यो। सो दरलाई बैंकले ८ प्रतिशतमा झार्ने तयारी गरेको छ। सिभिल बैंकले सबैभन्दा माथि पुगेर १० प्रतिशत व्याजदर दिनेगरी फागुन ९ गते ‘सगरमाथा बचत योजना’ ल्यायो।

त्यसअघि सो बैंकले साढे ८ प्रतिशतको बचत खाता संचालन गरिरहेको थियो। सिभिलले त्यसलाई अहिले ८ प्रतिशतमा झारिसकेको छ भने १० प्रतिशतलाई पनि ८ मा झार्ने भएको छ।

केही बैंकहरुले एकपछि अर्को गर्दै बचत खातामा उच्च व्याजदर दिने सूचना निकाल्न थालेपछि अरुले यसको विरोध जनाए। बैंकर्स संघको छलफलमा धेरैजसोले बचतमा बढाएको व्याजदरको विरोध गर्दै त्यसलाई पनि मुद्दतीमाजस्तै सीमित राख्नुपर्ने भन्दै दवाव दिए।

त्यसअघि मुद्दतीमा ११ प्रतिशतभन्दा बढी कसैले पनि व्याजदर नदिनेगरी सहमति गरेका उनीहरुले अन्ततः बचतमा समेत ८ प्रतिशतको सीमा लगाए। केही बैंकहरुलाई बढी व्याजदको सूचना निकालेको एक महिना नपुग्दै फिर्ता लिन दवाव दिइएको स्रोतले जनाएको छ। जसले गर्दा घोषणा गरिसकेको व्याजदर घटाउन ति बैंकहरु बाध्य भएका छन्।

बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर नदिनेगरी भद्र सहमति भएको एक बैंकर्सले जानकारी दिए। त्यहीअनुसार बचत खातामा ८ प्रतिशतभन्दा बढी व्याजदर दिन नमिल्ने भएको उनले बताए।

बैंकहरुले उच्च व्याजदर तोकेर निक्षेप माग्दा धेरैले रकम एक बैंकबाट अर्कोमा स्थानान्तरण गरे। बैंकहरुले तीन महिनाको अन्तरमा व्याजदर खातामा जम्मा गरिदिने गरेका छन्। उच्च व्याजदरको लाभ महसूस गर्न नपाउँदै घटाइदिएपछि नयाँ खाता खोल्नेले भने ठगिएको महसूस गरेका छन्।

‘अलिकति भएको पैसा साढे ९ प्रतिशत दिने भनेर कुमारीमा सारेको थिएँ’ नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने ‘आखिर घटाउने नै हो भने किन सूचना निकाल्नु रु’

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अर्थतन्त्रमा नकारात्मक असर नपर्नेगरी व्याजदर कायम राख्ने भद्र सहमति भएअनुसार घटाइएको जानकारी दिए। सोमबारदेखि बैंकले साढे ९ प्रतिशत तोकिएको व्याजदरलाई ८ प्रतिशतमा झारेको उनले स्पष्ट पारे।

‘अब नयाँ खाता खोल्ने ग्राहकलाई ८ प्रतिशत नै दिने भनेर बुझाएका छौँ, भण्डारीले भने ‘यसलाई झुक्याएको भनेर बुझ्नु हुँदैन, ८ प्रतिशत व्याजदर पनि कम होइन।’ यसअघि खाता खोलिसकेकालाई पनि ८ प्रतिशतको दर नै कायम हुने उनले बताए।

त्यस्तै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर गुरुङले १० प्रतिशत दिइँदै आएको व्याजदरलाई घटाउने तयारी भएको जानकारी दिए। अब खाता खोल्नेलाई व्याजदर घट्ने बताउँदै गुरुङले पुरानो खाता भएकाहरुलाई भने पुर्नविचार गरिने बताए।

‘१० प्रतिशत व्याजदर भनेर खाता खोलिसकेकालाई कति दिने भन्ने सम्वन्धमा हामीले छलफल गर्नै बाँकी छ, उहाँहरुलाई केही राहत दिनेगरी निर्णय गर्छौँ’ उनले भने। नयाँ खाता खोल्नेहरुलाई भने ८ प्रतिशत दिनेगरी कायम गरिने उनको भनाइ छ।

बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा तीन महिनासम्म व्याजदर परिवर्तन गर्न नपाइनेगरी राष्ट्र बैंकले व्यवस्था गरेको छ। तर बचत खातामा यस्तो व्यवस्था छैन। जसले गर्दा बैंकहरुले अवस्थाअनुसार र चाहेअनुसार व्याजदर परिवर्तन गर्ने गरेका छन्।

‘अवस्थाअनुसार बचत खाताको व्याजदर परिवर्तन हुन्छ’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने ‘भोलि निक्षेप तथा कर्जाको स्थिति हेरिकन यो घट्न वा बढ्न सक्छ।’

मुलुकको अर्थतन्त्रलाई सुहाउँदो व्याजदर कायम गर्नुपर्ने भन्दै उनले यसकै प्रभावले भोलि उद्योग व्यवसायहरु संचालन हुन नसक्ने अवस्था आउन नहुने उल्लेख गरे।

मुद्दतीमा ११ प्रतिशतभन्दा बढी व्याजदर नदिने सहमति भएको स्पष्ट पार्दै उनले बचतमा स्पष्ट कुनै सीमा नतोकिएको दावी गरे। ‘कतिपयले मुद्दतीमै दिएसरह बचतमा व्याजदर दिन थाले, मुद्दती र बचतको निश्चित अन्तर कायम राख्नेगरी संघमा छलफल भएको हो’ उनले भने।

नेपाल राष्ट्र बैंकले भने बैंकहरुले गरेको व्याजदरको सीमा सम्वन्धमा सकारात्मक प्रतिक्रिया जनाएको छ। ‘निक्षेपमा व्याजदर बढ्नुले कर्जा महँगो हुन जान्छ, त्यसले अर्थतन्त्रमा राम्रो गर्दैन’ प्रवक्ता नारायण पौडेलले भने ‘स्थिति हेरिकन बचतमा व्याजदर परिवर्तन हुन सक्छ।’सेतोपाटीबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको