अर्थ संसार, काठमाडौं– ब्याजदर घटाउन नमानेकै कारण नेपाल बैंकर्स संघले एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने निर्णयलाई एनआइसी एशियाले कार्टेलिङ भन्दै विरोध गरेको छ ।
अनलाइनखबरसँग कुुराकानी गर्दै बैंकका कार्यबाहक प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने , ‘व्याजदर भनेको बजारको माग र आपुर्तिको आधारमा निर्धारण हुन्छ, खुला अर्थतन्त्रको नीति ले पनि यही भन्छ ।’
उनी व्याजदर तोक्ने निर्णय संघको नभएको र आवश्यक भएमा राष्ट्र बैंकले नियमन गर्ने बताउछन् । ‘यो राष्ट्र बैंकले नियमन गर्ने विषय हो, यसले खराब अवस्था ल्याउने थियो भने वहाहरुले नै कडाई गर्ने अवस्था हुन्थ्यो,’ न्यौपानेको तर्क छ ।
शुक्रबार मात्रै एक सुचना निकाल्दै मुद्दति निक्षेपमा १२ प्रतिशत र बचतमा १० प्रतिशतसम्म नयाँ ब्याज प्रस्ताव गरेको थियो । यसअघि केही वाणिज्य बैंकहरुले बचतको ब्याजदर १० प्रतिशतसम्म पुर्याउँदा राष्ट्र बैंकले यसलाई आफ्नो सफलताको रुपमा ब्याख्या गरेको थियो । गत वर्ष बैंकहरुले व्यक्तिगत बचतकर्तालाई कम ब्याजदर दिएकोमा समेत राष्ट्र बैंकले असन्तुष्टि जनाउदै आएको थियो ।
बैंकहरुले संस्थागत निक्षेपकर्तालाई मात्र बढि ब्याजदर दिएकोमा समेत आपत्ति जनाएको थियो । यद्यपी, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने अहिले यसमा केही बोल्न नमिल्ने बताउछन् ।
‘बैंकहरुले व्याजदर स्थिरीकरण गर्न यस्तो गरेको हुनसक्छ । तर, यस बारेमा हामीले बुझेर मात्रै भन्न सक्छौं,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।
राष्ट्र बैंकले समेत बैंकहरुको व्याजदर निर्धारणमा सोझो दबाब दिन सक्दैन् । यसलाई व्यवस्थित गर्नैकै लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर लगाइएको छ । तर, यसले बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर व्यवस्थित बनाउन भने सकेको देखिदैन ।
बैंकलाई अन्य बैंकबाट सम्बन्ध विच्छेद गराउने संघको निर्णय गलत भएको एनआइसी एशियाको भनाई छ । एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रुपैयाा पुँजी प्राप्त गर्दै आएको छ ।
अब बैंकले राष्ट्र बैंकबाट पैसा लिनु पर्दा ७ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, अन्य बैंकबाट हाल ४।४० प्रतिशत पैसा पाउन सक्ने अवस्था छ ।अनलाइनखवर
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस