हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुँवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस